हुर्काउँदै फुटबलर

केशवशरण लामिछाने

पोखराको अन्तिम दक्षिण कुनोमा पर्छ, दोबिल्ला। यहाँ फुस्रे खोला सेती नदीमा मिसिन्छ, अनि दुवै एक भएर बग्छन्। त्यसपछि कुन पानी सेतीको, कुन फुस्रेको छुट्याउन सकिन्न।त्यही दोबिल्लामा छ, सहारा एकेडेमी, जहाँ सँगै हुर्किरहेका १४ जना केटाकेटीको माया र मिलन तिनै दुई खोलाको पानीजस्तै छुट्याउनै नसकिने गरी आपसमा घोलिएको छ। जसका साक्षी बनेका छन्, तिनै खोला।
001
साउन पहिलो साता।

नीलो रङको टिसर्ट र हाफपेन्ट लगाएका नानीहरूको हुल घरबाहिर निस्कन्छ।
बाबा! बाबा! भन्दै निस्किएको हुलका एक–एकजना बाबाको नजिक पुग्छन् र टाँसिन्छन्। सबैको अनुहारमा खुसी चम्कन्छ। खुसी र अनुहारको उज्यालो एकातिर मात्रै छैन। बाबा पनि बालसुलभ हाँसोमा हाँसो थपेर एक–एकलाई अंगालो हाल्छन्, सुम्सुम्याउँछन्।
यस्तो दृश्य सहारा एकेडेमीमा दिन बिराएरै देखिन्छ। १४ वर्षमुनिका ती नानीको बाबाप्रेम र ४४ वर्षे ‘बाबा’ वीरभद्र आचार्यको वात्सल्य।
आचार्य केही दिनमात्र एकेडेमी जान भ्याएनन् भने उनका ‘छोराहरू’ फोनमा घन्टी बजाउँछन्। ‘बाबा किन नआउनुभएको?’ उनीहरूको प्रश्नले वीरभद्रको मन कुँडिन्छ। तुरुन्तै मोटरसाइकलमा हुइँकिहाल्छन्, दोबिल्लातिर।
दोबिल्ला धाउने यो क्रमले कम्तीमा दिन बिराएरै निरन्तरता पाइरहन्छ।
एकेडेमी सहारा क्लबले स्थापना गरेको हो। यहाँ बस्ने केटाकेटी किताब र कापी–कलम च्यापेर दिउँसो स्कुल जान्छन्, साँझ–बिहान फुटबल नचाउँछन्। उनीहरूलाई लालनपालन गर्दै फुटबलमा पारंगत बनाउने सहाराको सपना हो। त्यही सपना पूरा गर्ने यात्रामा रथको सारथि बनेका छन्, क्लबका वरिष्ठ उपाध्यक्ष आचार्य।
कतिलाई बच्चा झर्को लाग्नसक्छ। कतिलाई भने बच्चाहरू हेर्नमात्रै पाए पनि दिन बितेको पत्तो हुँदैन। वीरभद्र दोस्रोखाले मान्छे हुन्। ‘बच्चाहरूसँग बस्दाबस्दै घर फर्कनै भुल्छु,’ उनी भन्छन्। त्यही गुण देखेर अध्यक्ष विक्रम थकालीले एकेडेमीतिरको जिम्मेवारी आचार्यलाई नै सुम्पिदिएका छन्। होस्टेलको जस्तो बसाइमा बच्चाहरूलाई लेखपढ गराउने वार्डेनसहितका कर्मचारी खटाइएकै छन्। तर, बच्चाहरूको नुवाइधुवाइदेखि पढाइलेखाइसम्ममा वीरभद्र आफैं उत्तिकै खटिन्छन्।
आमाबाबु गुमाएका वा अत्यन्तै विपन्न वर्गका बालक बटुलेर फुटबलर बनाउन क्लबले एकेडेमी खोलेको हो। भाग्यले ठगेकालाई फुटबल र शिक्षाको माध्यमबाट देशका होनहार गहना बनाउने लक्ष्य हो क्लबको।
‘सही बाटो देखाएनौं भने यी केटाकेटी कुलतमा फस्नसक्छन्, जीवनै सखाप हुनसक्छ,’ वीरभद्र भन्छन्, ‘खेलकुद उनीहरूलाई कुलतमा फस्न नदिने राम्रो उपाय हो। यसले अनुशासन सिकाउँछ, खेल कौशल पनि बढ्छ।’ त्यसमध्ये केही मात्र फुटबलमा समर्पित भएर लागे खेल क्षेत्रकै प्रगतिमा योगदान पुग्ने आशा उनले व्यक्त गरे।
हुन त ‘सित्तैमा खानबस्न र पढाइदिन्छ भने फुटबल वा जे सिके पनि हुन्छ’ भन्दै अनेकथरी अभिभावक बच्चा लिएर आउँछन्। साँच्चै बेसहारा हो/होइन पत्ता लगाउन वीरभद्र आफैं कुद्छन्। त्यस्ता बच्चा छान्ने जिम्मेवारी उनकै काँधमा छ। टुहुरोपनको भुक्तभोगी उनी आफैं पनि हुन्। सानैमा बाबु गुमाएकैले हुनसक्छ त्यस्ता बच्चाको अनुहारमा उनी आफ्नै बाल्यावस्थाको समय देख्छन्। आफ्नै रगतका दुई छोरी छन्। ‘भगवानले यतिधेरै छोराहरू पनि दिएका छन्,’ उनी एकेडेमीमा रहेका अर्काका सन्तान देखाउँछन्।
अघिल्लो ब्याचका लक्ष्मण जिसी त उनकै छोरीहरूसँग्ा तिहार मनाउँछन्। अरू बेला एकेडेमीमा बस्ने बालकलाई लिन दसैंमा टाढैका भए पनि उनीहरूका नातेदार आइपुग्छन्। काकाकाकी, मामामाइजू, फुपू वा गाउँले कोही न कोही हुन्छन्, दसंैमा सहारा एकेडेमीका बालकलाई सम्झने। बालकहरू कोही न कोही अभिभावकसँग जान्थे। तर, लक्ष्मणको त त्यस्ता कोही अभिभावक पनि थिएनन्। दसैंमा लिन कोही आएनन्। एक्लै एकेडेमीमा बसिरहेका लक्ष्मणलाई देखेर वीरभद्रको मन रसायो। उनले लक्ष्मणलाई आफ्नै घरमा दसैं मनाउन लगे। त्यो दसैंदेखि लक्ष्मण वीरभद्रकहाँ नै दसैंतिहार मनाउँछन्। चाडपर्वबाहेक पनि घर आउन पातलो भए वीरभद्रले भन्दा पहिले उनकी आमाले नै सोधीखोजी गर्छिन्, ‘तेरो छोरो किन घर आइरहेको छैन बाबु? मलाई नियास्रो लागिसक्यो। बोला न।’
परम्परागत समाजको हिस्सा वीरभद्रका आफ्नै सन्तानमा छोरीमात्र छन्। वैतरणी तर्न छोरा हुनैपर्ने सामाजिक सोचाइले उनलाई कम दबाब थिएन। परिवारमै पनि उनीभन्दा पाकाले छोरा जन्माउनैपर्ने दबाब दिइरहन्थे। ‘अब त्यस्तो दबाब आउन छोड्यो। यति धेरै छोरा भए। परिवार पनि खुसी छ। आफूले जन्माएका सन्तान सबैका हुन्छन्। अरूलाई आफ्नो बनाउन सक्नुमा जुन आनन्द छ, त्यो हामीले पाइरहेका छौं,’ उनी भावुक हुन्छन्।
क्लबले आफ्नै मैदानसहित एकेडेमी निर्माण पूरा गरेको छ महिना नाघेको छैन। यसको पछाडि भने १२ वर्षभन्दा बढीको मेहनत छ, जसको सुरुदेखि नै वीरभद्र अनवरत छन्। एउटा फुटबल प्रतियोगितामा भाग लिने उद्देश्यले २०५५ सालमा बनेको समूह पोखरा बसपार्क क्षेत्रको सरसफाइमा लाग्दालाग्दै फुटबल र सामाजिक कर्ममा होमिँदा वीरभद्र कुनै बेला पनि छुटेका छैनन्।
कुनै बेला मुलुकमा चर्किएको सशस्त्र द्वन्द्वले व्यवसाय थिलोथिलो पारिदिएपछि विदेशिनुको विकल्पमात्रै बाँकी हुँदा पनि उनी क्लब र बच्चाहरूसँग्ा टाढिएनन्। खाडी मुलुक कतारमा हप्तावारी पाइने शुक्रबारे छुट्टी पनि ओभरटाइम काम गरेर पैसा कमाउने माध्यम बनाउँथे साथीहरू। उनको त्यही छुट्टी सहाराका बच्चाका लागि छुट्टिन्थ्यो र लाग्थे सहयोगको लागि हात फैलाउन।
नेपालका कुनाकन्दराबाट गएकाहरूले ५०–१०० रियालको सहयोग दिन्थे। त्यस्ता सद्भावका शीत उभाएरै उनले चार लाखको कोसेली ल्याउन सके। करोड खर्चेर तयार एकेडेमीका लागि जम्मा भएको पहिलो ढिक्का त्यही चार लाख रुपैयाँ थियो। ‘कतारमा मजदुरी गर्नेहरूको सहयोगले एकेडेमीको जग हालियो’ भन्न पाउँदा वीरभद्रको अनुहार उज्यालिन्छ।
उनी त्यतिबेला कतारमै थिए, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सहाराका बारेमा एउटा डकुमेन्ट्री नै तयार पार्योल। त्यसलाई युरोपका नामी क्लबका टिभी च्यानलले प्रसारण गरे। बिबिसीले पनि बजायो। ‘साँझबिहानको छाक टार्नै मुस्किल हुँदाहुँदै खटिने साथीहरूको योगदानले सहारा विश्वव्यापी बन्यो,’ उनी भन्छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले दुई वर्षअघि सहारा क्लबलाई दिएको स्पेसल अवार्ड पाउँदा उनको आँसु थामिएन। पोहोर विश्व फुटबलका सर्वोच्च व्यक्तित्व फिफाका अध्यक्ष सेप ब्लाटर काठमाडौं आउँदा पनि वीरभद्रले त्यस्तै भावुक क्षण आत्मसात गरे। फिफा अध्यक्षसँग नेपाली फुटबलका सरोकारवालाको भेट थियो। एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा समूह¬–समूहमा छुट्टिएर बसेका भिन्न समूहसँग ब्लाटरले मुस्किलले ३० सेकेन्ड समय बिताए। परिचय गराउने जिम्मा अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले लिएका थिए। सहाराको टोली वीरभद्रको नेतृत्वमा थियो। ब्लाटरसँग भेट्ने बेला थापाले सहारा क्लबले अनाथ बालबालिकालाई फुटबलर बनाएको कथा समय लगाएरै सुनाए। ब्लाटरले खुसी भएर धाप मारे, सँगै फोटो खिचाए।
वीरभद्रलाई लाग्यो क्लबले राम्रै काम गर्न सकेको रहेछ भनेर गौरव गरे। त्यही सन्तोष र खुसी आँखाबाट आँसु बनेर प्रकट भइदियो, अनि पूरा जीवन सहारा अभियानमा समर्पित गर्न थप ऊर्जा मिल्यो। क्लबले वर्षैपिच्छे आयोजना गर्ने प्रतियोगितामा टिकट काटेर फुटबल हेरिदिने दर्शकसँगै विदेशमा रहेर पनि सहाराको अभियानमा सहयात्री बनेका सहारा युके र सहारा हङकङप्रति उनी उत्तिकै नमोभाव दर्शाउँछन्। आखिर त्यही आहा रारा गोल्डकपबाट नाफा भएको तथा सहारा युके, सहारा हङकङलगायत विदेशबाट आउने सहयोग सहारा एकेडेमी निर्माणको मुख्य आधार रहेको उनी जति कसलाई थाहा होला र!
वीरभद्रले समाजसेवीको पगरी गुत्थे धोको साँचेका छैनन्। केवल सहारा अभियानमा समर्पित हुनु जिन्दगीको ध्येय छ। सहाराप्रतिको त्यही भावनाले ओतप्रोत उनले छ वर्षअघि जन्मिएकी कान्छी छोरीको नामै सहारा राखेका छन्। त्यसैले भविष्य उध्याइरहेका छन्, ती छोराहरूको र छोरीहरूको पनि।