फुटबलका साना खेलाडी

शिब शर्मा

कमल सोमै मगर दस वर्षका भए । सुर्खेत वीरेन्द्र नगरका उनी अहिले पाँच कक्षामा पढ्छन् । उनका बाबाआमा कोही छैनन् । बेसहारा भएका उनले पोखराको सहारा क्लबले सञ्चालन एकेडमीको आश्रय पाएका छन् । सानैमा बाबाको मुत्यु र पाँच वर्षअघि आमाको पनि मुत्यु भएपछि उनी एक्लो भएका थिए । उनले एकेडेमीमा निःशुल्क रूपमा आवास, खाना र शिक्षा दीक्षासँगै फुटबल प्रशिक्षणसमेत पाएका छन् । त्यसैले अहिले उनी खुसी छन् ।
football_20131118013643
एकेडेमीको मूल उद्देश्य नै असहाय अनाथ बालकहरूलाई आश्रय दिने हो । त्यसका साथै उनीहरूलाई प्रशिक्षण दिएर फुटबल खेलाडी उत्पादन गर्नु पनि हो । भर्खर सञ्चालनमा आएको एकेडेमीमा उनीजस्तै बालकहरू अध्ययन गदै फुटबलको प्रशिक्षण लिन पाएका छन् । सुर्खेतदेखि पोखरा आएर फुटबल प्रशिक्षण र पढ्न पाएर फुरुङ देखिएका कमलले भने, ‘भविष्यमा राम्रो फुटबलर बन्न चाहन्छु ।’

पाल्पाका आठ वर्षीय दानु चिडी मगर पनि असिनपसिन हुँदै प्रशिक्षकको सिकाइ ध्यानपूर्वक हेरिरहेका थिए । उनी पाँच वर्षको हुँदा आमाको मृत्यु भयो । आर्थिक अभावले उपचार नपाएर उनको आमाको मृत्यु भएको थियो । बाबुचाहिं वैदेशिक रोजगारमा जाँदा बेपत्ता भए । उनी अहिले भरतपोखरी कास्कीको शिशु कल्याण निमाविमा तीन कक्षामा पढ्छन् । आफूजस्तै साथीहरू भेटेपछि उनले दुःख बिर्सेका छन् । ‘राम्ररी बस्न, खान, पढन र फुटबल खेल्न पाइएको छ,’ उनले भने, ‘राम्रो फुटबल खेलेर देशको नाम राख्नेछु ।’
2
यहाँ फुटबलको प्रशिक्षण लिने अधिकांशका बाबुआमा छैनन् । केहीको चाहिं बाबु र आमामध्ये एकजना छैनन् । एक महिनाभन्दा कम समयको फुटबलको प्रशिक्षणमा पनि यी खेलाडीहरूले निकै ज्ञान पाइसकेका छन् । ‘यिनीहरूमध्येबाट भविष्यमा राम्रो खेलाडी उत्पादन हुने हामीले देखेका छौं,’ एकेडेमीका संयोजक तथा क्लबका अध्यक्ष वीरभद्र आचार्यले भने, ‘धेरैले राम्रो खेल्न थालिसकेका छन् ।’ असहाय बालकलाई शिक्षा पनि दिने र फुटबलमा दक्ष बनाएर राष्ट्रिय खेलाडी उत्पादन गर्नु एकेडेमीको लक्ष्य भएको उनले बताए ।

प्रशिक्षण लिने सबै बालकहरूलाई विदेशी चर्चित खेलाडीहरूको नाम थाहा छ । उनीहरूले पनि त्यस्तै चर्चित खेलाडी बन्ने सपना बोकेका छन् । ताप्लेजुङबाट आएका दस वर्षीय अनिश लिम्बू बेलायती क्लब चेल्सीका स्टाइकर फर्नान्डो टोरेसका प्रशंसक हुन् । उनले भने, ‘फुटबल खेलाडी बन्ने धोको बल्ल पूरा होलाजस्तो छ ।’

कास्की, तनहुँ, गोर्खा, वागलुङ, पाल्पा, झापा, सुर्खेत, ताप्लेजुङ, रोल्पालगायतका जिल्लाबाट आएका बालकहरू भविष्य निर्माणमा व्यस्त छन् । पोखरा, १७ दोबिल्लाको सुविधा सम्पन्न एकेडेमीमा बसेर बालकहरू बिहान बेलुका फुटबलमा झुमिन्छन् । उनीहरूलाई सहाराका प्रशिक्षक किरण श्रेष्ठ, लक्ष्मी सिजी र महेन्द्र विकले फुटबल प्रशिक्षण दिन्छन् । फुटबल प्रशिक्षण लिने बालकहरू ८ देखि १० वर्ष उमेरका १४ जना छन् । सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले एकेडेमीमा ३० जना त्यस्ता बालकलाई आश्रय दिने बताए ।
3
एकेडेमीमा रहेका सबै बालकलाई प्रवेशिका परीक्षा दिने बेलासम्म शिक्षा, आवास र खानासँगै फुटबल प्रशिक्षण निःशुल्क गरिनेछ । एकेडेमीकै पहिलो ब्याचका अनिल गुरुङ अहिले चर्चित फुटबलर बनेका छन् । उनी पनि सहारा एकेडेमीकै उत्पादन हुन् । त्यस्तै एकेडेमीकै नवीन श्रेष्ठ नेपाल आर्मी र अजित भण्डारी नेपाल पुलिस क्लबमा आबद्ध छन् ।

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=309083